डिजिटल प्रोफायल - २०८२
मिक्लाजुङ्ग गाउँपालिका, मोरङ्ग
तथ्याङ्कमा आधारित योजना, उत्कृष्ट सार्वजनिक सेवा
डिजिटल प्रोफायलको बारेमा
डिजिटल प्रोफायल के हो ?
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँ/नगर वस्तुस्थिति विवरण (VDC/नगर प्रोफाइल) तयारी सम्बन्धी कार्यविधि २०७५ अनुसार स्थानीय तहको समग्र अवस्था समेट्ने एकीकृत सूचना व्यवस्थापन प्रणाली विकास गरेको छ। यस प्रणालीमार्फत मोबाइल एप्सको प्रयोग गरी घरपरिवार तथा संस्थागत विवरण संकलन गरिन्छ र GPS आधारित स्थान पहिचानसहित तथ्याङ्क सुरक्षित रूपमा डिजिटल रूपमा भण्डारण तथा विश्लेषण गरिन्छ। यसले स्थानीय तहको विकास योजना, अनुगमन तथा मूल्याङ्कनका लागि आवश्यक आधारभूत सूचना सहज रूपमा उपलब्ध गराउने उद्देश्य राख्दछ।
यस प्रणालीको माध्यमबाट प्रत्येक घरपरिवारको विवरण GPS सहित संकलन गरिन्छ भने विद्यालय, स्वास्थ्य संस्था, संघ–संस्था लगायतका संस्थागत विवरण पनि समेटिन्छ। साथै, भौतिक पूर्वाधार, प्राकृतिक स्रोतसाधन तथा सामाजिक–आर्थिक अवस्थासम्बन्धी जानकारी सहभागितामूलक रूपमा संकलन गरी नक्साङ्कन तथा विश्लेषण गरिन्छ। यसबाट स्थानीय तहको वास्तविक अवस्था स्पष्ट रूपमा देखिने गरी वस्तुस्थिति विवरण तयार हुन्छ।
संकलित तथ्याङ्क अनलाइन तथा अफलाइन दुवै माध्यमबाट उपलब्ध हुने व्यवस्था गरिएको छ। एक पटक संकलन गरिएको सूचनालाई वडा कार्यालय तथा नगरपालिकाबाट नियमित रूपमा अद्यावधिक गर्न सकिने व्यवस्था पनि रहेको छ। आवश्यकताअनुसार थप विवरण तथा सूचना समावेश गर्न सकिने भएकाले प्रणाली लचिलो र विस्तारयोग्य छ।
यस कार्यको मुख्य उद्देश्य गाउँपालिकाको सामाजिक, आर्थिक, भौगोलिक तथा संस्थागत अवस्थाको स्पष्ट र यथार्थ चित्र तयार गरी विकास योजना तथा निर्णय प्रक्रियालाई तथ्यमा आधारित बनाउनु हो। यसले स्थानीय तहका योजना निर्माण, अनुगमन, मूल्याङ्कन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै प्रमाणमा आधारित शासन प्रणालीलाई सुदृढ बनाउन सहयोग पुर्याउँछ।